प्रचण्डको प्रक्षेपण- ‘एमाले अहिलेको चुनावमा तेस्रो बन्छ, अर्को चुनावमा पार्टी नै रहँदैन’

काठमाडौं, २८ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचनमा नेकपा एमाले तेस्रो पार्टी हुने र अर्को निर्वाचन सम्ममा लोप नै हुने प्रक्षेपण गरेका छन् ।

एक सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले यस्तो प्रक्षेपण गरेका हुन् ।

‘एमाले अहिले तेस्रो पार्टी त हुन्छ नै जस्तो लाग्छ मलाई । तर एमाले अर्को चुनावसम्म जाँदा रहँदैन भन्ने लाग्छ मलाई । त्यो पार्टी नै रहँदैन,’ एमाले कत्रो पार्टी बन्ला भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले भने ।

त्यस्तैगरी प्रचण्डले केपी ओलीमाथि जनताले ७० वर्ष लडेर ल्याएको व्यवस्था उल्ट्याउन खोजे आरोप लगाएका छन् ।

ओलीलाई प्रचण्डले जनताको अगाडी अपराध गरेँ भनेर कबोल गर्न र आत्मआलोचना गरेर राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् ।

‘उहाँले जनताले ७० वर्ष लडेर ल्याएको उपलब्धि उल्ट्याउने दुस्साहस गर्नुभयो । मेरो सुझाव छ,’  उनले भने, ‘जनता अगाडी अपराध कवुल गर्नुस् । आत्मआलोचना गर्नुस् । र, राजनीतिबाट सन्यास लिएर बस्नुस्।’