तेह्रथुम, ४ मंसिर । तेह्रथुम प्रदेश–२ का मुख्य प्रतिस्पर्धी तेजमान कन्दङ्वा र दुर्गाप्रसाद चापागाईँले सँगसँगै सौहार्दतापूर्ण तवरले मतदान गरेका छन् ।
एकै गाउँ छातेढुंगाका दुवै उनीहरु गाउँले छिमेकी समेत हुन् । उनीहरुले आठराई गाउँपालिका वडा नं. ६ को सरस्वती आधारभूत विद्यालय होडाको एकै मतदान केन्द्रमा एकै समय मतदान गरेका हुन् ।
कन्दङ्वा नेकपा एमालेका प्रदेशसभा उम्मेदवार हुन भने माओवादी केन्द्रका नेता चापागाईँ सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार हुन् ।
चापाईँले प्रतिस्पर्धी कन्दङ्वा सँगै मतदान गरेको तस्बीर राखेर सामाजिक संजालमा पोष्ट गरेका छन् ।
उनले भनेका छन्, ‘संयोग प्रदेश सभाका हामी दुवै उमेदवारको मतदान केन्द्र एउटै।’
एक अर्कामा आलोचक र कडा प्रतिद्वन्द्वी भएपनि तस्बीरमा उनीहरुको पूर्ण सौहार्दता प्रस्तुत भएको देखिन्छ ।
यस क्षेत्रमा एमाले एक्लै बलियो रहेको र सत्ता पाँच दलीय गठबन्धन हुँदा कन्दङ्वा र चापागाईँको प्रतिस्पर्धा कडा हुने अनुमान रहेको छ ।
स्थानीय मनोविज्ञानको प्रभाव पनि यहाँको उम्मेदवारको जितको लागि पूर्वानुमान गर्न नसकिने अर्को कारण हो ।
तेह्रथुम प्रदेशसभा– २ मा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका रहेका छन् ।
कन्दङ्वा निवर्तमान प्रदेशसभा सदस्य हुन् भने चापागाईँ यसअघिको प्रतिनिधिसभा सदस्यमा पराजित उम्मेदवार हुन् ।