प्युठान, ०६ मंसिर । प्युठानमा नेकपा एमालेका सूर्यबहादुर थापा क्षेत्रीले सुरुवाती अग्रता लिएका छन् ।
उनले राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई पछि पार्दै २८९ मतान्तरको अग्रता लिएका हुन् ।
पछिल्लो मत परिणाम अनुसार थापाले १ हजार ९९१ प्राप्त गरेका छन् । त्यस्तै पौडेलले १ हजार ७०२ मत ल्याएकी छिन् ।
कञ्चनपुरमा पनि एमालेकाे अग्रता कायमै
तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका दुई र प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदावारले जारी मतगणनामा आफ्नो अग्रता कायम राखेका छन् ।
निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक तीन हजार छ सय ८७ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
सत्ता गठबन्धनका उम्मेदवार उहाँले गणना सुरु भएयता आफ्नो अग्रतालाई बढाउँदै लैजानुभएको हो । यहाँ १६ हजार एक सय ८७ मत गणना हुँदा लेखकले आठ हजार तीन सय ७५ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपा ९एमाले०की निरुदेवी पालले चार हजार छ सय ८८ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले सात सय ९० मत पाउनुभएको छ भने दुई वटा प्रदेशसभा रहेको निर्वाचन क्षेत्र नं ३ मा प्रदेशसभा सदस्यको गणना समेत जारी छ ।
सन्ताननब्बे हजार आठ सय २२ मतदाता रहेको क्षेत्र नं ३ मा ५७ हजार नौ सय ५५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश साउदको अग्रता कायम छ ।
यहाँ आठ हजार छ सय ९८ मत गणना हुँदा उहाँले तीन हजार चार सय ४८ मत पाउनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर धामीले तीन हजार दुई सय ८९ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यहाँ पनि दुवै प्रदेशसभासदस्यको गणना भइरहेको छ ।
अघिल्लो निर्वाचनमा नेकपा एमालेका धामीसित कांग्रेस नेता साउद पराजित हुनुभएको थियो । एक लाख पाँच हजार पाँच सय ७७ मतदाता रहेकोको निर्वाचन क्षेत्र नं २ मा ६५ हजार एक सय ४६ मत खसेको थियो ।
त्यसैगरी निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका तारा लामा तामाङ गणनाको सुरुवातदेखि अग्रस्थामा हुनुहुन्छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उहाँले दुई हजार दुई सय १७ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिस्प्रर्धी सत्ता गठबन्धनका उम्मेदवार एवं पूर्वमन्त्री बिना मगरले एक हजार पाँच सय ७५ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नं १ को दुई वटै प्रदेशसभाको पनि मत गणना जारी छ ।
९९ हजार एक सय १० मतदाता रहेको निर्वाचन क्षेत्र नं। १ मा ६४ हजार दुई सय ३९ खसेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।
रुपन्देही–३ मा गृहमन्त्री पछि परे
रुपन्देही क्षेत्र नं ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पछि पार्र्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले अग्रता लिनुभएको छ ।
सहायक निर्वाचन अधिकृत शोभाखर खरेलका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ १० हजार ६ सय ४० मत गणना हुँदा गृहमन्त्री खाण दुई सय ५२ मतले पछाडि हुनुहुन्छ ।
राप्रपाका उम्मेदवार बोहरा चार हजार एक सय ७० मतका साथ अगाडि हुनुहुन्छ भने सत्ता गठबन्धनका उम्मेदवार खाण तीन हजार नौ सय १९ मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ ।
प्रदेशसभातर्फ ३ (१) को मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे तीन हजार ६७ मतका साथ अग्रता लिनुभएको भने जनता समाजवादी पार्टीका महेन्द्र यादव दुई हजार एक सय २८ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।
यो क्षेत्रमा अहिलेसम्म छ सय १३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कूल एक लाख ३२ हजार सात सय ९१ मतदाता रहेको यस क्षेत्रमा एक सय ४८ मतदान केन्द्रबाट ९२ हजार नौ सय ७२ मत खसेको थियो ।