काँग्रेससँग टासिँदा पनि खुम्चियो माओवादी, प्रत्यक्षतर्फ माओवादी सातौँ स्थानमा

काठमाडौं, ०७ मंसिर । यो निर्वाचनपनि नेकपा माओवादी केन्द्रको आकार खुम्चिने देखिएको छ । जारी मतगणना र मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रको आकार साँघुरीने देखिएको हो ।

हालसम्मको मत परिणाम अनुसार माओवादीले प्रतिनिधिसभामा एक जित पनि निकाल्न सकेको छैन ।

माओवादीले काठमाडौं उपत्यकाहरुमा दिएको उम्मेदवरहरु लगभग हारको स्थितिमा छन् । कतिपय स्थानमा हार व्यहोरिसकेका छन् । जस्तो, मानुषी यमी पराजित भइसकेकी छन् ।

त्यस्तै ओनसरी घर्ती पनि हारको नजिकै छिन् । त्यस्तै पम्फा भूषालको पनि जित्ने अवस्था देखिँदैन । ठ्याक्कै अहिलेको मत परिणाम हेर्ने हो भने प्रत्यक्षतर्फ माओवादीको प्रतिनिधिसभामा शुन्य जित हुँदा तालिकाको ७औँ स्थानमा खुम्चिएको छ । यो गठबन्धन गर्दाको स्थिति हो ।

हालसम्म नेपाली काँग्रेस पहिलो स्थानमा छ । उसले हालसम्म १० स्थानमा जित निकालेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ३ स्थानमा जित निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ३ जित निकाल्दै तेस्रो स्थानमा छ ।

चौँथोमा नेकपा एकीकृत समाजवादी उसले एक ठाउँमा खाता खोलेको छ । राप्रपा पाँचौ स्थानमा छ । उसले पनि एक स्थानमा खाता खोलेको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि एक स्थानमा जित निकाल्दै छैटौ स्थानमा रहेको छ ।

माओवादी केन्द्रले हालसम्म कुनै पनि क्षेत्रमा जित निकाल्न सकेको छैन । यद्यपी माओवादीले १६ स्थानमा लिड गरिरहेको छ ।

कास्की–२९१० मा एमालेका कार्की विजयी

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की–२९१० मा नेपाल कम्युनिष्ट पार्टी९एमाले०का उम्मेदवार भीमबहादुर कार्की विजयी हुनुभएको छ ।

पोखरा सभागृहमा आज बिहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार पाँच सय ३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत ल्याउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले पाँच हजार पाँच सय ४० र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले दुई हजार ५९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका पदमबहादुर गुरुङले चार सय ९३, स्वतन्त्र उम्मेदवारहरू दीपकप्रसाद पौडेल ७२, दुर्गाकुमारी शर्मा ४५ र निशा थापाले ३४ मत ल्याउनुभएको छ ।

सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

सो क्षेत्रको प्रतिनिधिसभाको मत गणना जारी छ ।

पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा(एमाले)का विद्या भट्टराईले अग्रता बनाउनुभएको छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फ ‘रास्वपा’ तेस्रो स्थानमा

प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म तेस्रो स्थानमा रहेको छ ।

समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा (एमाले( पहिलो, नेपाली कांग्रेस दोस्रो र रास्वपा तेस्रो स्थानमा देखिएको हो ।

निर्वाचन आयोगका अनुसार बुधबार बिहान ५ बजेसम्ममा समानुपातिकतर्फ एमालेको एक लाख ८९ हजार छ सय ६२, कांग्रेसको एक लाख ६७ हजार तीन सय ८६ र रास्वपाको ८६ हजार २४ मत रहेको छ ।

समानुपातिकतर्फको मतगणनामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) लगायत दलहरू रास्वपाभन्दा पछाडि छन् ।
निर्वाचन आयोगका अनुसार माओवादी केन्द्र ८० हजार दुई सय मतसहित चौथो र राप्रपा ४५ हजार पाँच सय ९६ मतसहित पाँचौँ स्थानमा छ ।

त्यस्तै छैटौँ स्थानमा रहेको जनमत पार्टीले समानुपातिकतर्फ १४ हजार तीन सय ७८ मत पाएको छ ।

सातौँ स्थानको जसपाले १३ हजार नौ सय ७९, आठौँ स्थानको नेपाल मजदुर किसान पार्टीले १० हजार नौ सय ५९ र नवौँ स्थानको एकीकृत समाजवादीले १० हजार ५९ मत पाएको छ ।

नौ हजार चार सय १० मतसहित नागरिक उन्मुक्ति पार्टी समानुपातिकतर्फको मतगणनामा दशौँ स्थानमा छ ।

बैतडी सङ्घमा एमाले अगाडि

बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ ।

जम्मा १८ हजार तीनसय ४८ मत गणना हुँदा भण्डारीले आठ हजार चारसय ७१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो ।

उहाँलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले सात हजार आठ सय ९५ मतका साथ पच्छ्याइरहनुभएको छ ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर (१) मा २२ हजार दुई सय ९४ मत गणना हुँदा नेकपा एमालेका सुरेन्द्र पालले सात हजार पाँच सय छ मत प्राप्त गर्नुभएको छ ।

उहाँको पछिपछि रहदै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले पाँचहजार नौ सय ४१ मत पाउनुभएको छ ।

यसैगरी तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका वीर बहादुर बिष्टले पाँच हजार एकसय ९६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रदेश सभा क्षेत्रनम्बर २ मा भने कांग्रेस अगाडि छ । जम्मा २२ हजार तीन सय ९३ मतगणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्टले १० हजार नौसय ७० मत ल्याउदा नेकपा एमालेका लिलाधर भट्टले नौहजार चार सय ३३ मत प्राप्त गर्नुभयो।

प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि दुई क्षेत्र रहेको बैतडीमा आइतबार सम्पन्न निर्वाचनमा कुल मतदाताको ५२ दशमलव २२ प्रतिशत मत खसेको थियो ।

यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७८ हजार चार सय १६ मत मात्रै खसेको थियो ।