गुल्मी–२ हारिन् रामकुमारी झाँक्री, गोकर्ण विष्टले मारे बाजी

काठमाडौं ०७ मसिर। गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पराजित भएकी छन् । उनी नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भएकी हुन् । विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन्। झाँक्रीले २० हजार ४८१ मत पाएकी छन्।

प्रतिनिधिसभा समानुपातिकतर्फ ‘रास्वपा’ तेस्रो स्थानमा

प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म तेस्रो स्थानमा रहेको छ ।

समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा (एमाले( पहिलो, नेपाली कांग्रेस दोस्रो र रास्वपा तेस्रो स्थानमा देखिएको हो ।

निर्वाचन आयोगका अनुसार बुधबार बिहान ५ बजेसम्ममा समानुपातिकतर्फ एमालेको एक लाख ८९ हजार छ सय ६२, कांग्रेसको एक लाख ६७ हजार तीन सय ८६ र रास्वपाको ८६ हजार २४ मत रहेको छ ।

समानुपातिकतर्फको मतगणनामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) लगायत दलहरू रास्वपाभन्दा पछाडि छन् ।
निर्वाचन आयोगका अनुसार माओवादी केन्द्र ८० हजार दुई सय मतसहित चौथो र राप्रपा ४५ हजार पाँच सय ९६ मतसहित पाँचौँ स्थानमा छ ।

त्यस्तै छैटौँ स्थानमा रहेको जनमत पार्टीले समानुपातिकतर्फ १४ हजार तीन सय ७८ मत पाएको छ ।

सातौँ स्थानको जसपाले १३ हजार नौ सय ७९, आठौँ स्थानको नेपाल मजदुर किसान पार्टीले १० हजार नौ सय ५९ र नवौँ स्थानको एकीकृत समाजवादीले १० हजार ५९ मत पाएको छ ।

नौ हजार चार सय १० मतसहित नागरिक उन्मुक्ति पार्टी समानुपातिकतर्फको मतगणनामा दशौँ स्थानमा छ ।

बैतडी सङ्घमा एमाले अगाडि

बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ ।

जम्मा १८ हजार तीनसय ४८ मत गणना हुँदा भण्डारीले आठ हजार चारसय ७१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो ।

उहाँलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले सात हजार आठ सय ९५ मतका साथ पच्छ्याइरहनुभएको छ ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर (१) मा २२ हजार दुई सय ९४ मत गणना हुँदा नेकपा एमालेका सुरेन्द्र पालले सात हजार पाँच सय छ मत प्राप्त गर्नुभएको छ ।

उहाँको पछिपछि रहदै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले पाँचहजार नौ सय ४१ मत पाउनुभएको छ ।

यसैगरी तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका वीर बहादुर बिष्टले पाँच हजार एकसय ९६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रदेश सभा क्षेत्रनम्बर २ मा भने कांग्रेस अगाडि छ । जम्मा २२ हजार तीन सय ९३ मतगणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्टले १० हजार नौसय ७० मत ल्याउदा नेकपा एमालेका लिलाधर भट्टले नौहजार चार सय ३३ मत प्राप्त गर्नुभयो।

प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि दुई क्षेत्र रहेको बैतडीमा आइतबार सम्पन्न निर्वाचनमा कुल मतदाताको ५२ दशमलव २२ प्रतिशत मत खसेको थियो ।

यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७८ हजार चार सय १६ मत मात्रै खसेको थियो ।