ग्रामीण विकास लघुवित्त मर्जर प्रक्रिया खारेजी माग

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडबीच अघि बढाइएको मर्जर प्रक्रियाको कर्मचारी संगठनबाट विरोध भएको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थाबीच समान स्वापमा मर्ज हुने तयारी गरिएको छ ।

मर्जरसहितका प्रस्ताव पारित गर्न ग्रामीण विकास लघुवित्तले असार २८ गते साधारणसभा आह्वान गरेको छ । यी दुई संस्थाबीच फागुन १७ गते मर्जर सम्झौतामा हस्ताक्षर भएको थियोे । संस्थाले मर्जर प्रक्रिया अगाडि बढाइसकेको अवस्थामा ग्रामिण विकास लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्रिय कर्मचारी संगठनले मर्जर प्रक्रियाको विरोध गरेको हो । संगठले संस्थाको कार्यकारी अधिकृत श्यामकुमार कट्वाललाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् । कर्मचारी संगठनले मर्जर प्रक्रियालाई खारेज गर्न माग गरेका छन् ।

संस्थाका केही सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र व्यवस्थापन तहका उच्च पदस्थ कर्मचारीहरुको व्यक्तिगत स्वार्थ, लाभ तथा पहुँच विस्तारका लागि मर्जर प्रक्रिया अघि बढाइएको आरोप कर्मचारी संगठनले लगाएको छ । स्वतन्त्र अध्ययन विना मर्जर प्रक्रिया अघि बढाइएको पनि उनीहरुको आरोप छ । संस्थालाई दोहन गर्ने उद्देश्यले मर्जरको रणनीति अघि सारेको संगठनका केन्द्रीय संगठन समिति अध्यक्ष दीपेन्द्र लुइँटेलले बताए । जबर्जस्ती मर्जर प्रक्रिया अघि बढाइयो भने संगठन गम्भीर कदम चाल्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी संस्थापन पक्ष स्वयंले लिनुपर्ने चेतावनी कर्मचारी संगठनको छ ।

मर्जरले संस्था र शेयर सदस्यहरुलाई मात्र नभई कर्मचारीहरुको सेवा, सुविधा र उपदानमा समेत असर पर्ने आशंका कर्मचारीहरुले गरेका छन् । ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ भने समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीमा रहेको छ। ग्रामीण विकासको चुक्ता पुजी ९८ करोड २५ लाख रहेको छ भने समाजको पुजी २ करोड २८ लाख ५० हजार मात्र छ ।