निलम्बन फुकुवा गर्न भन्दै राजुनाथ उच्च अदालतमा

काठमाडौं । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँद्वारा निलम्बित महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले उच्च अदालत पाटनमा रिट दायर गरेका छन् । पाण्डे आफूलाई निलम्बन गरिएको भन्दै उच्च अदालत गएका हुन् । प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई जेठ २० गते ६ महिनाका निलम्बन गरेका थिए । त्यसका विरुद्ध पाण्डेले मंगलबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् ।

पाण्डेले दायर गरेको रिटमा बुधबार पेसी तोकिएको उच्च अदालत पाटनकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । कार्यकक्षमा जाँदा आफूलाई अबरोध गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई स्पष्टिकरण सोधेका थिए । उक्त स्पष्टिकरण चित्त नबुझेको भन्दै उनलाई निलम्बन गरिएको थियो ।