कुखुराको चल्ला उत्पादन तथा बिक्रि वितरण बन्द

काठमाडौं । नेपाल ह्याचरी उद्योग सङ्घले कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गरेको छ ।
चल्ला उत्पादक किसानले लागत अनुसार मूल्य नपाएपछि सङ्घले एक साता उत्पादन तथा बिक्रीवितरण बन्द गरेको हो ।

सङ्घले सोमबारदेखि यही असार २९ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गर्ने जनाएको छ । सङ्घमा आवद्ध उद्योगीलाई ब्रोइलर र कलर ब्रोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाएको हो ।

उत्पादित चल्ला र मासुले मूल्य नपाएपछि एक साताका लागि उत्पादन बन्द गरिएको सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेले बताए । कोभिड अघिसम्म नेपालमा तीन सय ७० को हाराहारीमा उद्योग सञ्चालनमा रहेका ह्याचरी उद्योग अहिले ५३ वटामात्र सञ्चालनमा छन् ।

नेपालमा अहिलेको बजार खपत सातामा २० लाखदेखि २२ लाख मात्रै रहेको भए पनि उत्पादन भने सातामा ३० देखि ३५ लाख हुने गरेको छ । माग भन्दा उत्पादन बढी भएपछि समस्या आएको संघले जनाएको छ । हरेक आइतबार र बुधबार ब्रोइलर र कोइलरका चल्ला उत्पादन गरिँदै आएको छ ।

चल्ला बिक्री नहुँदा सञ्चालनमा रहेका ह्याचरी उद्योगसमेत धारासाही भएका छन् । ब्रोइलर चल्लाको लागत मूल्य ६० रुपैयाँ भन्दा बढी पर्ने भए पनि उत्पादित चल्ला १० देखि १५ रुपैयाँमा बेच्नुपर्ने बाध्यतामा ब्यवसायी छन् ।