काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनतासँग माफी मागेर राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् ।
एक सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले जनताले ७० वर्ष लडेर ल्याएको व्यवस्थालाई उल्ट्याउन खोजेको आरोप लगाउँदै ओलीलाई राजनीतिबाट सन्यास लिन सुझाव दिएका हुन् ।
‘उहाँले जनताले ७० वर्ष लडेर ल्याएको उपलब्धि उल्ट्याउने दुस्साहस गर्नुभयो । मेरो सुझाव छ,’ पत्रकारले केपी ओलीलाई के सुझाव दिनुहुन्छ भनेर सोधेको प्रश्नमा उनले भने, ‘जनता अगाडी अपराध कवुल गर्नुस् । आत्मआलोचना गर्नुस् । र, राजनीतिबाट सन्यास लिएर बस्नुस्।’
त्यस्तैगरी अध्यक्ष प्रचण्डले एमाले अर्को चुनावसम्मा पार्टीको रुपमा नै नरहने दावी गरेका छन् । अहिलेको निर्वाचनमा नेकपा एमाले तेस्रो पार्टी हुने र अर्को निर्वाचन सम्ममा पार्टी नै सकिने प्रक्षेपण गरेका हुन् ।
‘एमाले अहिले तेस्रो पार्टी त हुन्छ नै जस्तो लाग्छ मलाई । तर एमाले अर्को चुनावसम्म जाँदा रहँदैन भन्ने लाग्छ मलाई । त्यो पार्टी नै रहँदैन,’ प्रचण्डले भने ।