‘टुरिस्ट’को आरोप लगाउन एमालेलाई सिताको प्रश्न – ‘२०४८ देखि जितेर तेह्रथुममा के के गर्नुभयो ?’

तेह्रथुम, ३० कात्तिक । सत्ता गठबन्धनकी तेह्रथुम उम्मेदवार सिता गुरुङले आफूलाई प्रतिद्वन्द्वी उम्मेदवारहरुले टुरिष्ट उम्मेदवार भनेर गलत प्रचार गरिरहेको जिकिर गरेकी छन् ।

काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहेकी गुरुङले विगत ३१ वर्ष देखि आफू तेह्रथुमको बिकास र जनताको दुख सुखमा समय व्यतित गर्दै आएकोले आफू टुरिष्ट उम्मेदवार नभएको उल्लेख गरिन् ।

रेडियो आठराईसँग कुरा गर्दै उनले तपाईँलाई एमालेका उम्मेदवारहरुले तपाईँ टुरिष्ट उम्मेदवार भनेर बात लगाउने गरेका छन् नी ? भन्ने प्रश्नमा आफू लामो समयदेखि तेह्रथुमे जनताको साथमा रहेका बताइन् ।

बरु २०४८ साल देखि नै जिल्लाको नेतृत्व गर्दै आएका नेतालाई आफू जिल्लाबाट निर्वाचित हुँदा पनि कुनै योजना तथा विकास नगरेको भन्दै उनीहरुलाई नै तेह्रथुममा कति बिकास र योजना बोकेर ल्याउनु भयो भनेर प्रश्न सोध्न आग्रह गरिन् ।

‘२०४७ साल देखि तेह्रथुममा राजनीति गरेर आएकोले आफूलाई कसैले टुरिस्ट उम्मेदवार भनेर आरोप लगाउनु कुप्रचार मात्रै भएको बताउँदै उनले २०४८ साल देखि नै सांसद बन्दै आएका व्यक्ति कति पटक जिल्ला आएर कुन कुन योजना बनाउनु भयो ? र,
कुन कुन योजना बनाउनु भयो ?,’ गुरुङले प्रश्न गरिन् ।

आफू २०७४ सालमा प्रत्यक्षमा पराजित भएपनि जिल्लाको समग्र विकासमा प्रत्यक्ष र ठोस भूमिकामा रहेको गुरुङको दावी छ ।

गुरुङले जनतालाई दुस्भ्रमित पारेर र अरुलाई गाली गरेर आफू ठूलो हुन्छु भन्ने सोचको नरहेको जिकिर गरिन् ।

आफूहरु मंसिर ४ गतेसम्मका लागि मात्रै नागरिक नभएकाले भ्रमपूर्ण र कपोकल्पित कुरा नगर्न गुरुङले आग्रह गरिन् ।

उनले आफूले जति तेह्रथुम जिल्लामा विकासको काम कसैले नगरेको पनि दावी गरेकी छन् ।

उनले टुरिष्ट उम्मेदवार भनेर आरोप लगाउने प्रतिद्वन्द्वी उम्मेदवारलाई तेह्रथुमको माटो छोएर आफूले जति विकास अरु दलले नगरेको भन्दै चुनौति दिएकी छन् ।

‘मलाई टुरिस्ट उम्मेदवार भनेर आरोप लगाउने माहानुभावलाई म तेह्रथुमको माटो छोएर चुनौति दिन चाहन्छु । मैलेजति तेह्रथुमको विकास निर्माण कसैले गरेको छैन ‘मैले जति जिल्लाको दुख कसैले गरेको छैन,’ उनले भनिन्,’ यो विषयमा म प्रतिपक्षी उम्मेदवारहरुसँगै बसेर जनताको बिचमा सार्वजनिक सुनुवाइ गर्न पनि तयार छु ।’

गुरुङलाई नेकपा एमालेका उम्मेदवारहरुले तेह्रथुमको चेली गोरखाको बुहारी भन्दै कटाक्ष गर्ने गरेका छन् ।

सोही भनाइको जवाफ गुरुङले संचारमाध्यममार्फत दिएकी हुन् ।