‘तेह्रथुमको बिकासका लागि विजय सुब्बाले रुख र तेजमान कन्दङ्वाले हसिया हथौडामा मत हाल्नु पर्छ’

तेह्रथुम, १ मंसिर । सत्ता गठबन्धन तेह्रथुम प्रदेश २ का साझा उम्मेदवार दुर्गाप्रसाद चापागाईँले तेह्रथुम जिल्लाका बिसका र समृद्धि चाहने भए यो निर्वाचन विजय सुब्बाले रुखमा र तेजमान कन्दङ्वाले हसिया हथौडामा मतदान गर्नुपर्ने टिप्पणी गरेका छन् ।

नेकपा एमालेले १५ वर्षसम्म तेह्रथुमको नेतृत्व गरेपनि कुनै उल्लेख्य विकास नगरेको भन्दै यो निर्वाचनमा एमालेका उम्मेदवारले काँग्रेस र कम्युनिष्टको गठबन्धनलाई मत हाल्नु पर्ने कटाक्ष गरेका हुन् । सुब्बा तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् भने कन्दङ्वा तेह्रथुम प्रदेश २ को एमाले उम्मेदवार हुन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका चापागाईँले तेह्रथुमका एमाले नेताहरुले दशकौँसम्म जिल्लाको नेतृत्व गरेपनि बिकास गर्न नसकेको आरो लगाए ।

‘यसघिको सरकारका पालामा २२ जना र पटक पटक मन्त्री हुँदा पनि बिकास गरेनन्,’ उनले भने, ‘तेह्रथुममै जन्मिएका एमालेका प्रधानमन्त्री बन्दा पनि कुनै उल्लेख्य विकास गर्न सकेनन्।’

उनले थपे, ‘अब तेह्रथुमको बिकास गर्ने या चाहने हो भने विजय सुब्बाले रुखमा र तेजमान कन्दङ्वाले हसिया हथौडामा मत हाल्नुपर्छ।’

त्यस्तै चापागाईँले विगतमा वामगठबन्धन मार्फत निस्वार्थ रुपमा एमालेलाई जिताएको पनि चर्चा गरे । जिल्लाको विकास हुने अपेक्षामा जिल्लाको ३ वटै क्षेत्रमा एमालेलाई जिताएको तर त्यो सपना पूरा हुन नसकेको चापागाईँको भनाइ छ ।

आगामी निर्वाचनमा तेह्रथुममा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका लागि सिता गुरुङ र एमालेबाट विजय सुब्बाबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै प्रदेशसभा २ मा माओवादीका दुर्गाप्रसाद चापागाईँ र एमालेबाट तेजमान कन्दङ्वाको मुख्य प्रतिस्पर्धा हुँदैछ ।